कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले

Radio Nagarik 100.4 MHz आइतबार, कार्तिक २३, २०८३

काठमाडौँ, कात्तिक २२  गते । नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरी प्रर्वर्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्‍याउनुपर्ने बताउनुभयो ।

विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उहाँको भनाइ थियो । “कुकुर तिहारलाई अन्तरर्राष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्‍याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भन्नुभयो ।

उहाँले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरी नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्नुपर्ने धारणा राख्नुभयो । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबिचको सम्बन्धको उदाहरण भएको उहाँको भनाइ थियो ।

‘डिजिटल’ युगमा मानिसबिचको सम्बन्ध र मानव तथा प्रकृतिबिचको कटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उहाँले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताउनुभयो ।

कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रर्वर्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्यागसमेत सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको यस मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो । “हाम्रा चाडपर्वमा प्रकृति र मानवबीचको सम्बन्ध जोड्ने धेरै अद्वितीय पक्ष छन् । ती पक्षलाई विश्वभर पुर्‍याउन सबैको साझा प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताउनुभयो । उहाँले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रर्वद्धन गर्ने निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताउनुभयो । यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसको सम्बन्धको विषयमा चर्चा गर्दै ककुर तिहारको विशेष महत्व रहेको बताउनुभयो ।

“कुकुर र मानिसको सम्बन्ध सुरुआतदेखि नै रहँदै आएको छ, हाम्रा धर्म, संस्कृतिमा पनि कुकुरको विशेष महत्व रहँदै आएको छ, हाम्रा धर्मग्रन्थमा पनि कुकुरको महत्व उल्लेख छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा सबिना काफ्लेले बिन्दु नामक कुकुरको पूजा गर्नुभयो । साथै कलाकारहरु बसुन्धरा भुसाल, भुवन भन्द, मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर ‘साम्बा’लाई विशेष सम्मान गर्नुभएको थियो । कुकुर तिहारको अवसरमा सहभागीहरुले आफ्ना कुकुरहरुको पनि पूजा गर्नुभएको थियो । रासस

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342