श्रीमतीको मेहनत र कमाइ देखेर सघाउनका लागि फर्किए विदेशिएका श्रीमान्

Radio Nagarik 100.4 MHz आइतबार, फाल्गुण २७, २०८०

गुल्मी । घरमा पालिएका २ वटा गाईको दुध बेचेर घर खर्च चलिरहेको थियो । विदेशमा रहेका श्रीमान्‌को मासिक आम्दानी बचत थियो । सत्यवती–५, हँसराकी ३७ वर्षीया लक्ष्मी भण्डारीको परिवारलाई आर्थिक रूपमा कुनै समस्या थिएन । तर, घरमा स–साना दुई छोरा, उमेर ढल्कँदै गरेकी सासूआमा, श्रीमान् विदेश भएपछि घर सम्हाल्ने आफूमात्र भएपछि चिन्ता भने प्रशस्त थियो ।

श्रीमान्‌लाई घरमा बोलाए विदेशको राम्रो कमाइ गुम्ने, नबोलाए एक्लै हुनुको चिन्ताले उहाँलाई पिरोलिरहेको थियो । गाउँमै बसेर पैसा कमाउने उपाय खोज्दा लक्ष्मीले गाई थप्ने निर्णय गरिन् । प्रशस्त गाई थपेपछि उहाँले श्रीमान्‌लाई विदेशबाट स्वदेश फर्काइन् ।

दुई वर्ष भयो लक्ष्मीका श्रीमान् यज्ञमूर्ति (लक्ष्मण) भण्डारी गाउँ फर्केको । अहिले लक्ष्मीको गाईगोठ शुभलक्ष्मी गाईफार्ममा परिणत भएको छ । १३ वटा गाई पालेकी उहाँको ५ वटा दुहुना छन् भने २ वटा ब्याउने र ६ वटा बाच्छाबाच्छी रहेका छन् । अहिले पनि दैनिक ६०/७० लिटर दुध बिक्री गरेर मासिक १ लाख २० हजार कमाइ हुने उहाँले बताउनुभयो । आफ्नो उपायले श्रीमान्‌सँगै आम्दानी पनि घरमै हुँदा लक्ष्मी अहिले दंग छन् ।

‘यता दुध बेचेर २०/२५ हजार मासिक कमाउथेँ, उता श्रीमन्को डेढ लाख आम्दानी चोखै बच्थ्यो । पैसा त थियो तर मेरा लागि श्रीमान् टाढा, छोराका बाबा परदेश, आमाका लागि एक्लो छोरा कहाँ हो कहाँ भन्ने चिन्ताले पिरोलिरहेको थियो,’ लक्ष्मी भन्छिन्, ‘आउनूस् यहीँ गाई पालेर पनि राम्रै आम्दानी हुनेरहेछ भनेर बोलाएँ, उहाँ पनि आउनुभयो र सँगै रमाएर व्यवसाय गरेका छौं ।’

यज्ञमूर्ति मात्र होइन, सत्यवती–५ नेटाका होमनाथ ढकाल पनि श्रीमतीले व्यावसायिक तरकारी खेती गरेकै कारण धेरै वर्षको विदेश बसाइपछि गाउँ फर्केका छन् । थोरै खेतबारी, आम्दानीको स्रोत केही थिएन । घरखर्च चलाउन र छोरालाई पढाउनकै लागि परदेश पस्नु होमनाथको बाध्यता थियो । विदेशबाट धेरथोर धन कमाएर घर धान्ने उहाँको सोच थियो । तर, अर्काको देश न हो भनेजस्तो कहाँ हुन्थ्यो र !

यता घरमा श्रीमती लक्ष्मी ढकाललाई पनि उस्तै समस्या थियो । घरमा छोराछोरी हुर्काउन एक्लै, त्यसमाथि विदेश गएका श्रीमान्को कमाइले घरखर्च धान्न धौ धौ भएपछि खर्च चलाउनकै लागि तरकारी खेती गरेर बेच्न थालेको उहाँले सुनाउनुभयो ।

त्यही उत्पादन वृद्धि हुँदै गएर अहिले लक्ष्मी व्यावसायिक तरकारी कृषक बनेकी छन् भने श्रीमान् होमनाथ विदेशबाट फर्केर लक्ष्मीलाई सघाइरहेका छन् । अहिले ८ रोपनी खेतबारीमा लटरम्म तरकारी फलेको छ । २५ घार माहुरी पालेका छन् । लक्ष्मी र होमनाथलाई आफ्ना उत्पादन बिक्री गर्न भ्याइ नभ्याइ छ । ‘श्रीमान विदेश हुँदा घरमा एक्लै हुँदा पनि भैंसी, बाख्रा र तरकारी खेती गर्थें, ४ वर्ष भयो व्यावसायिक कृषि गर्न थालेको,’ लक्ष्मी भन्छिन्, ‘अर्काको देशमा कति गर्नुहुन्छ, घरमै आउनूस्, आफ्नै देशमा केही हुन्छ भनेर अहिले श्रीमान्लाई पनि बोलाएँ, राम्रै छ ।’

आफ्नै पौरखले श्रीमान्लाई विदेशबाट फर्काउने अर्की व्यावसायिक किसान हुन्, सत्यवती–३ ठूलोलुम्पेककी मोतीमाया सिँजापती । परिवारमा परम्परागत रूपमा २०५६ सालदेखि सुरु भएको बंगुरपालनलाई २०६९ सालदेखि व्यावसायिक बंगुरफर्म खोलेर उहाँले विदेश गएका श्रीमान्लाई घरमै बोलाएकी छन् । मोतीमाया र जनक अहिले व्यावासयिक रूपमा बंगुर, बाख्रा र कुखुरापालन गर्छन् । गाउँमै फ्रेस हाउस सञ्चालन गरेर मासु बिक्री गरिरहेका छन् ।

अचेल धेरैको रहर हुन्छ, सहरमा बस्ने, मिठोमसिनो सुख्खैले खाने । सके आफूले जागिर गर्ने, नभए पनि श्रीमान्को विदेशको कमाइ भैहाल्छ । तर, लक्ष्मी भण्डारी, लक्ष्मी ढकाल र मोतीमाया सिँजापतिको मनमा त्यो सोच कहिल्यै आएन । आफ्नो जीवन निर्वाहका लागि आफैंले मिहिनेत गर्नुपर्छ भन्ने सोच राखेर काम गरे ।

आफैंले सुरु गरेको उद्यम व्यवसायमार्फत श्रीमान्लाई घरमै फर्काए । अहिले उनीहरूको मुख्य आम्दानीको स्रोत नै आफूले सुरु गरेको व्यवसाय बनेको छ । त्यसैबाट घरखर्च चलाएका छन्, छोराछोरी पढाएका छन् । औषधि उपचार र सम्पत्ति जोड्ने आधार पनि त्यही व्यवसायलाई बनाएका छन् ।

उद्यम गर्न चाहनेका लागि अहिले सत्यवतीका गाउँ अनुकूल बनेका छन् । डेरी, मासुपसल गाउँमै चल्छन् । तरकारी पनि गाउँमै बिक्री हुन्छ । स्थानीय तहमा कृषि तथा पशु प्राविधिकहरूले किसानलाई सल्लाह दिन्छन् । रोग किराको समस्या समाधान गरिदिन्छन् ।

‘मलाई व्यावसायिक रूपमै गाईपालन गर्न गाउँपालिकाका पशुसेवा प्राविधिक नारायण खनाल सरले हौसला दिनुभएको हो, अहिले पनि पालिकाबाट हुने सरसहयोग पाइरहेकी छु,’ गाईपालन व्यवसाय गरेकी लक्ष्मी ढकालले भनिन्, ‘पहिला पहिला गाउँमा दुध बेच्ने चलन थिएन । डेरीमा दुध बेच्न लैजाँदा लाज हुन्थ्यो । तर अहिले गाउँमै डेरी छ, उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ ।’

ठूलोलुम्पेकका सिँजापती दम्पतीका भनाइमा पनि बजारको कुनै अभाव छैन । ‘कुखुरा र खसीबोका गाउँमै जति पनि बिक्री हुन्छ, आफैं काटेर बेच्छौं,’ मोतीमायाले भनिन्, ‘बंगुरका पाठापाठी र मासु लिन स्याङ््जा, पाल्पा र बाग्लुङसम्मबाट पनि आउँछन् ।’

बजारको मात्र होइन, आँट र रहर भएपछि किसानलाई प्रविधिको पनि कुनै समस्या छैन । कृषि र पशुपालनका लागि कुनै औपचारिक तालिम लिन जरुरी पनि छैन भन्छन् विदेशबाट फर्केर व्यावसायिक तरकारी खेती र माहुरी पालनमा लागेका होमनाथ ढकाल । ‘हाम्रै ठाउँको हावापानीसँग मिल्दोजुल्दो भारतका किसानका व्यावसायिक खेती युट्युबमा हेरेर नयाँ प्रविधि सिकेका छौं,’ उनी भन्छन्, ‘जाँगर हुनुपर्‍यो, सानातिना कुरामा अड्किनु पर्दैन ।’

तरकारी खेतीबाट मात्रै अहिले सबै खर्च कटाएर मासिक ५० हजार भन्दा धेरै बचत गर्ने ढकाल दम्पती मह भने थाइल्यान्ड पठाउँछन् । ‘एक जना छिमेकी थाइल्याण्ड हुनुहुन्थ्यो, उहाँले मह कतै नबेच्नु यहाँ बिक्री गर्ने व्यवस्था मैले मिलाउँछु भनेर उतै लैजान सुरु गर्नुभएको छ,’ लक्ष्मी भन्छिन्, ‘सुरुको वर्ष ३० किलो उत्पादन भयो र उतै पठायौँ, अब उत्पादन पनि बढ्ला नि !’

धेरै वर्ष विदेश बसेर फर्केका लक्ष्मीका श्रीमान् होमनाथ नबुझेर, नजानेर विदेश पस्नुपरेको तर बुझेपछि आफ्नै गाउँठाउँमा फर्केर राम्रो आम्दानी गरिरहेको बताउँछन् । ‘विदेशमा त सारै दुःख पाइयो । बिरामी भएका बेला घर आउन छुट्टी पनि पाइँदैनथ्यो,’ उहाँले भन्छन्, ‘विदेशमा जति खटेर मिहिनेत गरे पनि आफ्ना लागि केही हुादैन । विदेशको तुलनामा यहीं खटिने हो भने दिन दुगुना, रात चौगुना यहीं कमाइ हुने रहेछ ।’

कमाइ मात्र पनि ठूलो कुरा होइन, परिवारको सदस्य विदेशमा हुँदा घरमा बस्नेहरू चिन्ताले बिरामी पर्ने अवस्था पनि हुन्छ । आफू विदेश हुँदा चिन्ताले नियमित औषधी खाने आमा आफू घर फर्केपछि सन्चो भएको गाईपालक यज्ञमूर्ति भण्डारी बताउँछन् ।

‘विदेशमा अरुको अधिनमा काम गर्नुपर्ने । बिरामी भए पनि काम गर्नुपर्ने । प्राविधिक काम भएकाले स्वास्थ्यको पनि जोखिम उत्तिकै थियो, यहाँ फर्केर परिवारसँग बसेर गाईपालन गर्दा खुसी छु,’ उनले भने, ‘म मात्र खुसी होइन, पहिला एक्लो छोरा टाढा भएको चिन्ताले आमा पनि बिरामी भैरहने, मासिक २०र२५ हजार उपचार खर्च मात्र आउँथ्यो, अहिले म आएदेखि आमा पनि सन्चै हुनुहुन्छ, काममा हात बढाइरहनु भएको छ ।’ श्रोत:- कान्तिपुर अनलाइन

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!